जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैँ हतकडी लगाएर यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ।
रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमन्त राईको नेतृत्वमा सोमबार साँझ यातना दिएको भिडियो सार्वजनिक भएको हो।
रायलाई सिरहा बजारबाट मंगलबार साँझ नियन्त्रण लिएर कार्यालयभित्रै हतकडी लगाउनुका साथै बाँधेर राखिएको भिडियोमा देखिन्छ। महोत्तरीको जलेश्वर नगरपालिका–८ फुलहट्टाका घर भई सिरहामा कार्यरत प्रहरी रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिइएको भिडियोमा भनिएको छ।
हतकडी लगाएर लडाइएको दृश्य देखिएको भिडियोमा प्रहरी जवान रायले पटक पटक ‘यस्तो यातना नदिनु न सर’ भनेको सुनिन्छ। मदिरा सेवन गरेको भने पनि रायले प्रतिकार गर्दै मैले मदिरा सेवन गरेको छैन भनेका छन्।
प्रहरी निरीक्षक राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हवलदारसँग गुनासो पोखेका थिए। हवलदारको सल्लाह अनुसार पीडित रायले प्रहरी निरीक्षक राईसँग गुनासो गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी रविन्द्रराज पाण्डेले भने प्रहरी जवान रायलाई यातना नदिएको दाबी गरेका छन्।
‘प्रहरी जवान रायले २५ गते सोमबार साँझ ड्युटीमा रहेका जवानलाई गाली गलौज गर्दै हतियार खोस्ने प्रयास गरेर भागेका थिए,‘ डिएसपी पाण्डेले भने, ‘त्यही क्रममा सिरहा बजारबाट नियन्त्रणमा लिई हतकडी लगाएर कार्यालयमा राखिएको मात्रै हो। यातना दिएको होइन।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) टेकुकुमार लिम्बुले नागरिकसँग भने, ‘राय लागु औषध सेवन गरेजस्तो लग्छ। प्रहरीमाथि नै जाइलेपछि नियन्त्रणमा लिएको मात्र हो यातना दिएको होइन। उनी यस अघि पनि विभिन्न काण्डमा मुछिएको जानकारी आएको छ, हामी खोतल्दै छौं, उनले भने। उनलाई हतकडी लगाएर राखेपछि प्रहरीबाटै भिडियो खिचेर सार्वजनिक गरिएको उनले बताए।
घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन टोली गठन गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार अनुसार घटना बाहिरिए लगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको हो। जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलीलाई निर्देशन दिइएको छ।