राजेश गोईत
२०६२ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट नायब निरीक्षक (सई) बनेका नेपाल प्रहरीका कर्मचारीले अठार बर्षमा काँधमा फुली थपेका छन् । २०६२/०६३ मा सई भएका ६७ जनाले काँधमा फुली लगाउदा हर्षित मुद्रामा देखिन्थे भने सँगसँगै सई भएर पनि यस पटक बढुवामा नपरेका प्रहरी कर्मचारी अमिलो मन बनाएर मुटु माथी ढुङ्गा राखि हास्नु पर्या छ भने झैं व्यहोर्न बाध्य भएका छन् ।
इन्स्पेक्टरमा सेवा गरेको व्यक्ति कम्तीमा पनि डिआइजी बनेर सेवा निवृत्त भएर घर जान्छन भने तल्लो दर्जाका प्रहरी कर्मचारीले तिन सिढी उक्लीनका लागि दाँतमा पसिना निकाल्नु पर्ने बाध्यता छ । जीवनभर आफ्नो जवानी राज्यको सेवामा सुम्पिएको तल्लो दर्जालाई बढुवामा मात्र होइन सरुवामा समेत त्यसैगरी विभेद गर्ने गरिएको छ । जसको आफन्त पहुँचवाला छ त्यो दर्जाले सानो भए पनि सेवा सुविधाले उच्च तहको अधिकृतको भन्दा कम हुँदैन् । तराइका जिल्लाका सादा पोशाकमा खटीने प्रहरी कर्मचारीको सान हेर्दा उनीहरु प्रहरी संगठनका वादशाह त होइनन भन्ने भान हुन्छ ।
जिल्ला र प्रदेशका प्रमुखबाट अपराधिक र गैर कानूनी कार्य गर्नेलाई निगरानी गर्न र सूचना संकलन गर्न खटाइने गरिएको भनिने ती घुमुवाहरुको प्रायः तस्कर र अवैध कार्य गर्ने सँग मितेरी रहेको हुन्छ । दिन रात घाम पानी परिवार केहि नभनी अहोरात्र आफ्नो कार्यमा खटिने एउटै दर्जाको कर्मचारी र सादा पोशाकमा खटिने प्रहरीको खानपान र शानमा आकाश जमिनको फरक चौविसै घण्टा अलर्ट अवस्थामा बस्नुपर्ने तर सेवा सुविधाका सबै कार्यबाट बञ्चित हुने तल्लो तहका प्रहरी कर्मचारीको दर्दनाक कथा र व्यथा सुन्ने निकाय नै बहिरो अवस्थामा छ ।
केहि समय अघि एक जना जवानले आफ्नो अधिकृतका अगाडी आफ्नी श्रीमतीको जीवनदानको भिख मागेको दृष्य हृदय विदारक थियो । मिर्गौला फेल भएकी श्रीमतीको उपचार भइरहेको र केहि दिनमा ट्रान्सप्लान्ट गर्नु परेको र आफ्नो काज रोकिदिन आग्रह गरेर अनुनय विनय गरेको त्यो कारुणिक दृष्य यो पंक्तिकार झलझली सम्झन्छ । जसको भनसुन लाग्छ उ वर्षौ सम्म एक छत्र राज गरेर बस्छ तर त्यो विचरा जवान श्रीमतीलाई आफ्नो शरीरबाट मिर्गौला श्रीमतीको प्राणका लागि दिदैछ उसको काज हटाएर दरबन्दीमा जान पत्र थमाइन्छ कस्तो दर्दनाक कथा बोकेर तल्लो तहका कर्मचारी बसेका छन् भन्ने प्रष्ट हुन्छ ।
पहुँच नभएका कर्मचारी आफूले चाहेको ठाँउमा जान पाउनु भनेको एकादेशको कथा जस्तै हो । सुरक्षाको मेरुदण्ड भनेको तल्लो दर्जाका कर्मचारी भएकोले नेतृत्वले त्यो वर्गको सेवा सुविधा बारे चौडा छाती बनाएर विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ । दिन प्रतिदिन चेन अफ कमाण्डको घेरा तोडिदै जानुमा विभेद पनि प्रमुख कारण हो भन्ने बुझन जरुरी छ । अठार वर्षमा काँधमा फुली थपेका प्रहरी कर्मचारीलाई बधाई र एउटै व्याची भएर पनि जुनियर बन्न बाध्य पारिएकालाई यो पंक्तिकार सहानुभुति बाहेक अरु के पो दिन सक्छ र !